आवाजले चल्ने मोबाइल बिज्ञान र प्रविधिको युगमा अनेक अनेक किसिमका उपलव्धिहरु विकास भइरहेका छन् यसैक्रममा भारतमा बोलेरै मोबाइल एसएमएस लेख्न सकिने प्रविधिको विकास हुँदै छ । यो प्रविधिले एसएमएस लेख्न मात्र नभएर मोबाइलका सबै सुविधा मुखैबाट चलाउन सकिने सेवा दिने छ । हैदराबादको इन्टरनेसनल इन्सिच्युट अफ इन्फरमेसन टेक्नोलोजी (आइआइआइटी) ले यस्तो मोबाइल प्रविधिको विकास गर्न लागेको हो । प्रविधिले मौखिक आदेशलाई मोबाइलले बुझ्नो भाषाका रूपमा विकास गर्ने छ । आइआइआइटीका निर्देशक राजीव संगलका अनुसार दुई वर्षभित्र पूरा हुने परियोजनालाई भारतीय सूचना प्रविधि मन्त्रालयले सहयोग गरेको छ । 'तपाई मोबाइल फोनसँगै कुरा गर्न सक्नुहुने छ,' उनले भने, 'एसएमएस पठाउनका लागि तपाईले मौखिक आदेश दिए मात्र पनि पुग्ने छ ।' उनका अनुसार अन्य सात संस्थाले पनि यस्तो प्रविधिको विकासका लागि काम गरिरहेका छन् । सानो स्क्रिन र किबोर्ड भएका मोबाइलमा यस्तो प्रविधि धेरै उपयोगी हुने उनले बताए । संस्थाले बोलीबाटै प्रविधि प्रयोग गर्नका लागि भाषा अनुवाद, भारतीय भाषाको पहिचान, व्यक्ति अनुसार बोलीको पहिचान, संवाद प्रणाली लगायतको विकास गर्दै छ । संस्थाले एक अन्तर्राष्ट्रिय मोबाइल फोन निर्माता कम्पनीका लागि हिन्दी भाषाको प्रणाली विकास गरिरहेको पनि उनले बताए । विशेषज्ञहरू बोलेरै चलाउन सकिने प्रविधि मोबाइलमा आएपछि भारतका ग्रामिण क्षेत्रमा सेवा विस्तार गर्न सहयोग पुग्ने बताउँछन्




